निर्माण ब्यवसायी मकवानपुरको अधिवेशन उद्घाटन सत्र सम्पन्न

गुगलपाटी संवाददाता हेटौंडा,१२ असोज
१२ आश्विन २०७५ १२:१४

 

निर्माण ब्यवसायी संघ मकवानपुरको २१ औं साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको छ ।

शुक्रबार हेटौंडामा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले कार्यक्रमको उद्घाटन गरेका हुन् । उनले कार्यक्रममा बोल्दै बिना कारण निर्माण व्यवसायी बदनाम हुन बाध्य भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले निर्माण ब्यवसायीको भन्दा अन्य कारणले काममा ढिलाई भएको बताउँदै दोषजति ब्यवसायीले ब्यहोर्न बाध्य भएको जिकिर गरे । राज्यको नीति नियम र कर्मचारी प्रशासनका कारण धेरै समस्या हुने गरेको भन्दै सिंहले निर्माणमा ढिलाई हुनुमा दश प्रतिशत मात्र ठेकेदारको लापरवाही रहेको दाबी गर्नुभयो । निर्माण व्यवसायीमैत्री वातावरण भएमात्र बर्तमान सरकारले बोकेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा सफल हुने बताउदै उनले निर्माण ब्यवसायीलाई बदनाम गरी सरकार र सञ्चारमाध्यमले परिचय दिन पनि अप्ठ्यारो हुने बातावरण बनाएको भन्दै उहाँले निर्माण ब्यवसायी जिम्मेवार रहेको बताए ।

त्यसरी नै साधरणसभामा बोल्दै महासंघका केन्द्रीय महासचिव रोशन दाहालले निर्माण ब्यवसायीलाई बदनाम गरेर देशको विकास नहुने बताए । साधरणसभाको उद्घाटन कार्यक्रममा महासंघका पूर्व केन्द्रीय अध्यक्ष जयराम लामिछाने, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतले बोलेका थिए। अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।