स्कुल मर्ज गर्दै मकवानपुरका गाउँपालिका

गुगलपाटी संवाददाता
१४ आश्विन २०७५ ०२:१७

हेटौंडा — बसाइँसराइ र बोर्डिङ स्कुलप्रतिको आकर्षणले मकवानपुरका दुर्गम गाउँपालिकास्थित विद्यालयमा विद्यार्थी संख्या न्यून भएपछि विद्यालय मिलाउने योजना बनाउन थालिएको छ । यो क्षेत्रका विद्यालयले यस्तो योजना बनाउन लागेका हुन् ।

हाल कुनैमा शिक्षक र विद्यार्थीको संख्या बराबर छ । कतै एक शिक्षकले ३ विद्यार्थी पढाएका छन् । कैलाश गाउँपालिका—५ कालिखोला स्थित कालीदेवीमा प्राविमा विद्यार्थी ११ जना भर्ना भएका थिए । नियमित रूपमा चार जना मात्र पढ्न आउँछन् । कालीखोलाका तीन घरका एक कक्षादेखि ३ कक्षासम्म ११ जना भर्ना भए । आलोपालो गरेर दैनिक चार जना पढ्न आउने गर्छन् । ३ कक्षामा एक विद्यार्थीमात्र छन् । उनी पनि फुर्सदको बेलामा मात्र पढ्न आउने गरेका छन् ।

विद्यालयमा २ शिक्षक र एक कार्यालय सहयोगी छन् । २०५२ सालमा स्थापना भएको उक्त विद्यालयमा कुनै बेला ९० जनासम्म विद्यार्थीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आत्मराम रुम्बाले बताए । ‘कोही बसाइँ गए, कोहीले डाँडाबासको बोर्डिङमा पढ्न थालेकाले विद्यार्थी संख्या कम भयो,’ उनले भने । २ शिक्षकलाई पनि गाउँपालिकाले अन्यत्र स्कुलमा सरुवा गरेको छ ।

अहिले कार्यालय सहयोगी सिंहबहादुर रुम्बाले उपस्थित विद्यार्थीलाई पढाइरहेका छन् । उक्त विद्यालयका विद्यार्थी दैनिक २ घण्टा हिँडेर थाहा नपास्थित सुन्दरदेवी माविमा पढ्न जानुपर्छ । ‘विद्यार्थीलाई आउजाउ गर्न २ घण्टाभन्दा बढी समय लाग्छ,’ व्यवस्थापन समितिका अध्यक्ष रुम्बाले भने, ‘स्कुल मर्ज गर्दा पनि गाउँका सासाना बालबालिकालाई पढ्न समस्या हुन्छ, मर्ज नगर्दा पनि विद्यार्थी संख्या कम छ ।’

विद्यार्थी संख्य न्यून भएकाले उक्त विद्यालयमा शिशु कक्षामात्र सञ्चालन गर्ने योजना गापाको छ । ‘कालीदेवी प्रावि मर्ज गरेर त्यहाँ शिशु कक्षा सञ्चालन गर्ने योजना रहेको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मोक्तानले बताए । ‘शिक्षकको दरबन्दी मिलान र विद्यालय मर्ज गर्ने कार्य अगाडि बढाएका छांै,’ उनले भने ।

गोगने, डाँडाखर्क, नामटार, कालिकाटार र भार्ता गाविस समेटेर बनाइएको कैलाश गाउँपालिकामा प्राविदेखि माविसम्म ५१ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये ५ वटा मावि, ५ वटा निमावि र ४१ वटा प्रावि छन् । केही विद्यालयहरू अहिलेसम्म एउटा सरकारी दरबन्दीविहीन छन् । केही स्कुलमा शिक्षक धेरै, विद्यार्थी थोरै, कुनैमा विद्यार्थी धेरै शिक्षक थोरै भएको गापा अध्यक्ष मोक्तानले बताए । उक्त गाउँपालिकाले शिक्षा नियमावली बनाएर दरबन्दी मिलान पनि गरिसकेको छ । गाउँपालिकाले गरेको दरबन्दी मिलानप्रति शिक्षक महासंघ असन्तुष्टिसमेत जाहेर गरेको थियो ।

यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–९ च्याउखोलास्थित प्राथमिक स्कुलमा एक शिक्षक, एक विद्यार्थीको अनुपात छ । ३ कक्षासम्म पठनपाठन हुने उक्त स्कुलमा तीन कक्षामा २ विद्यार्थी छन् । ती पनि एकाघरका दिदीभाइ हुन् । ती दुई विद्यार्थीलाई पढाउन २ शिक्षक छन् । कहिले घरमा काम पर्‍यो भने ती दुई जना पनि आउँदैन

स्कुलमा शिक्षक मात्र हुन्छन् । दुवै शिक्षक स्कुलमा नै बस्छन । भूकम्प जानुअघि उक्त विद्यालयमा २४ विद्यार्थी थिए । २०७३ मा १६ विद्यार्थी भर्ना भएका थिए । यो शैक्षिक सत्रमा २ जना मात्र भर्ना भए । ‘विद्यार्थी संख्या अत्यन्त न्यून भएका स्कुलमा गाभ्ने योजना बनाएको छ,’ भीमफेदी गापाका अध्यक्ष हिदम लामाले भने, ‘शिक्षकको दरवन्दी मिलान र स्कुल मर्ज गर्नेबारेमा अध्ययन भइरहेको छ ।’

प्रताप विष्टले आजको कान्तिपुर दैनिकमा हेटौंडाबाट समाचार लेखेका छन् ।