प्रदेश तीनको नाउ नेवा ताम्सालिङ प्रदेश राख्न माग

गुगलपाटी संवाददाता काठमाडौं
१४ आश्विन २०७५ १२:५०

प्रदेश ३ लाई बहुपहिचानको आधारमा नेवाः ताम्सालिङ प्रदेश नामकरण गर्न माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ । नेवाः ताम्सालिङ समन्वय समितिको अगुवाईमा माइतीघर मण्डलादेखि निकालिएको र्‍याली नयाँ बानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।

सांस्कृतिक साँझी, प्लेकार्ड, व्यानसहित सहभागी भएकाहरुले बहुपहिचानको आधारमा प्रदेश ३ लाई नेवाः ताम्सालिङ प्रदेश घोषणा गर, कम जनसंख्या भएका आदिवासी जनजातिको विशेष संरक्षित, स्वायत्त क्षेत्र अबिलम्ब घोषणा गर, नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाज भाषा बनाउ, विद्यालयहरुमा मातृभाषामा पठन पाठनको व्यवस्था गरजस्ता नारा लगाएका थिए।

प्रदर्शन तथा र्‍यालीमा सांसद, विभिन्न राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता, जातीय संघ संगठन र सर्वसाधारणसमेत उपस्थित थिए।