वडा कार्यालय हराएपछि बकैयामा बबाल

गुगलपाटी संवाददाता (बकैया) मकवानपुर,१४ असोज
१४ आश्विन २०७५ १३:२४

पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७ नम्बर वडा कार्यालय अन्यत्र सारिएपछि असन्तुष्ट स्थानीयले तालाबन्दी गरेका छन् । स्थानीयलाई थाहौ नदिई वडा कार्यालय सारेपछि आक्रोशित भएका स्थानीयहरुले नयाँ ठाउँमा सारिएको कार्यालयमा आईतबार दिउँसो तालाबन्दी गरेका हुन् ।
शुक्रबार दिउँसोसम्म ७ नम्बर वडा घमनटोलस्थित सामुदयीक बनको भवनमा रहेको वडा कार्यालय शुक्रबार साँझ वडा अध्यक्ष रामकाजि लामिछानेले आफ्नै टोलमा सारेका थिए ।
शनिबार बिहानदेखि खोजिकार्यमा जुटेका असन्तुष्ट स्थानीयहरुले शनिबार दिउँसो वडा कार्यालय करिब तीन किमि पूर्व हात्तिखोलामा सारेको थाहा पाएका थिए । करिब दुईसयको संख्यामा नयाँ स्थानमा सारिएको वडा कार्यालय घेराउ गर्न आईतबार दिउँसो पुगेका असन्तुष्ट स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।


‘कसैलाई पनि थाहा नदिई अपायक पर्ने स्थानमा वडा कार्यालय सारिएपछि हामीले तालाबन्दी गरेका हौं’, असन्तुष्ट स्थानीय नारायण राईले भने, ‘सबैलाई पायक पर्ने स्थानमा कार्यालय स्थापना नगरेसम्म हामी आन्दोलित हुन्छौं ।’
प्रहरीको समन्वयमा वडा कार्यालयका कर्मचारी आफैले तालाबन्दी गर्ने बिवाद समाधान भएपछि मात्र ताला खोल्ने सहमतिपछि वडा कार्यालयका कर्मचारीहरुले कार्यायलमा तालाबन्दी गरेका थिए । तर वडाका कर्मचारीले ताला लगाएको केही समयपछि असन्तुष्ट गाउँलेले अर्को ताला लगाएरका वडा सदस्य सोमबहादुर माझीले बताए ।
देशकै ठूलो मध्ये पर्ने बकैया ७ नम्बर वडाको कार्यालय स्थानीयलाई थाहै नदिई अपायक पर्ने स्थानमा सारिएको वडा सदस्यहरुको समेत गुनासो छ । ‘हामीलाई समेत थाहा नदिई वडा कार्यालय सारियो’, माझीले भने, ‘सबैलाई पायक पर्ने स्थानमा कार्यालय नराख्ने हो भने हामीलाई मान्य हुँदैन ।’
७ नम्बर वडा अध्यक्ष रामकाजि लामिछानेले वडा सदस्यहरुको समहतिमा नै कार्यालय सारिएको दाबी गरे । ‘एकान्तमा कुनै सेवा सुविधा नभएको स्थानमा वडा कार्यालय राख्दा सेवाग्राहीले धेरै दुख पाएको गुनासोपछि अलि पर कार्यालय सारिएको हो’, उनले भने, ‘स्थायी वडा कार्यालय सबैलाई पायक पर्ने स्थानमा नै राखिन्छ ।’


बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले भोली सोमबार यसबारेमा छलफल गरिने बताए । ‘वडाबासीलाई पायक पर्ने स्थानमा स्थायी कार्यालय राख्न समन्वय गरिनेछ’, उनले भने ।