मदिरा बिक्रीमा मकवानपुर प्रशासनको कडाई, यस्तो छ हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाका फ्रन्ट पेज

गुगलपाटी संवाददाता
१५ आश्विन २०७५ ०१:२०

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले प्रदेशको पाँच वर्षीय आवधिक योजना बन्दै गरेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

प्रदेशको आवधिक योजना बनाउन हिजोदेखि हेटौंडामा सोच कार्यशाला सुरु भएको समाचार सबै पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् ।

प्रदेश ३ ले योजना बैंकबाट काम गर्ने, हेटौंडा बन्दैछ फूलैफूलको सहर, तेजाव छ्याप्ने पाँचवर्षदेखि फरार, नुनचिनीको सुपथ मूल्य पसललगायतका समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमै छापेका छन् ।

मदिरा बिक्रीमा कडाई
मदिरा बिक्रीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडाई गर्नै भएको छ । आइतबार १३ बुँदे निर्देशिका जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कडाई गरेको हो ।

चाडपर्वका समयमा हुनसक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै प्रशासनले मदिरा बिक्रीको लागि निश्चित नियम बनाएको हो । अब दिउँसो १२ बजेदेखि राती ९ बजेसम्म मात्र मदिरा बिक्री गर्न पाइन्छ । सार्वजनिक स्थलमा मदिराको विज्ञपान गर्दै पोष्टर, पम्प्लेट, होर्डिङ बोर्ड टाँस्न निषेध गरिएको छ । त्यस्तै १८ वर्षमुनिकालाई मदिरा बिक्री गर्न नपाइने जनाइएको छ ।

मदिरा सेवनले शान्ति सुरक्षामा असर गरेको हुँदा सामान्य कडाई गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । आजको प्रदेश दैनिकमा समाचार छापिएको छ ।

आजको साझाकुरा दैनिकले हेटौंडा फूलैफूलको शहर बन्दै गरेको समाचार पहिलो पृष्ठमा छापेको छ । ग्रिनसिटीको छबी बनाएको हेटौंडाले फूलैफूलको सहरको योजना अघि सारेको छ । हेटौंडा बजारका सडकको स्तरोन्नती गर्ने क्रममा पेटी बनाइने र सोही पेटीमा विभिन्न फूलका विरुवा रोपिने हेटौंडाका मेयर हरिबहादुर महतले जानकारी दिए ।

आजको समृद्ध समाज दैनिकले रुपचन्द्रका चेलाको जनमुखी बाख्रा फार्म खोलेको समाचार पहिलो पृष्ठमा छापेको छ । जनमुखी नेता स्वर्गीय रुपचन्द्र विष्टको राजनीतिक अनुयायी हुँदै युवाअवस्थामा क्रियाशील रहेका मकवानपुर गढी ५ मझुवाका रोमनाथ बजगाई अहिले जनमुखी बाख्रा फार्म सञ्चालन गरी राम्रो आम्दानी गरिरहेका छन् ।

हेटौंडा सिमेन्ट उद्योगको खानीको जागिर छाडेर बजगाइले बाख्रा पाल्न सुरु गरेका हुन् । २०७२ सालदेखि बाख्रा फार्म सुरु गरेका उनले हरेक वर्ष बोका बाख्रा बेचेर ८ लाख रुपैया बचत गर्नेगरेको सुनाए ।

आजको हेटौंडा सन्देश दैनिकले तेजाव छ्याप्ने ५ वर्षदेखि फरार रहेको समाचार छापेको छ । २०७० बैशाख ९ गते बिहान हेटौंडा– ३ स्थित एक भाँडा पसलमा एक युवतीमाथि तेजाव छ्यापेर फरार रहेकालाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

प्रहरी नायब उपरीक्षक मनोज शाहका अनुसार तजाब छ्याप्ने २७ वर्षीय राज केशरीलाई पक्राउ गन प्रहरी भारतसम्म पुगे पनि भटिएन । घटनापछि युवतीको स्वास्थ्यउपचारमा परिवारले ६० लाखभन्दा बढी खर्च गरिसकेकेको छ । तर, युवतीको स्वाथ्यमा भने पूर्ण सुधार आएको छैन ।

यस्तो छ हेटौंडाबाट प्रकाशित पत्रिकाका फ्रन्ट पेज