निर्मलाकी आमा भन्छिन्ः मलाई थाहा भो यो देशले मलाई न्याय दिँदैन

गुगलपाटी संवाददाता
१५ आश्विन २०७५ ०१:५८

काठमाडौं– कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले अब आफूले न्याय पाउने सम्भावना मरेको गुनासो गरेकी छिन् ।

आइतबार घटनामा संलग्न भएको आशंकामा डिएनए परीक्षण गरिएका निलम्बित एसपी, उनका छोरा तथा स्थानीय मेयरका भतिजाको डिएनए रिपोर्टमा घटना संलग्न नभएको नतिजा आएपछि दुर्गाले यस्तो अभिव्यक्ति दिएकी हुन् ।

१० साउनमा साथीको घरमा गएकी निर्मला ११ साउनमा गाउँकै उखुबारीमा मृत भेटिएकी थिइन् । त्यसयता सरकारले घटनाको छानबिन गर्न विभिन्न समिति बनायो । तर, अहिलेसम्म कुनै पनि छानबिन समितिले घटनाका दोषी भेट्न सकेका छैनन् ।

सबैभन्दा पहिले स्थानीय दिलिप सिंह विष्टलाई प्रहरीले दोषी भन्दै पक्राउ गरेको थियो । उनको डिएनए परीक्षणमा पनि उनको संलग्नता नभएपछि उनलाई छोडियो । दिलिपलाई पक्राउ गरेलगत्तै स्थानीयको चर्को विरोधपछि एसपी डिल्लीराज विष्टलाई गृहमन्त्रालयले निलम्बन गर्यो । उनीमाथि शंका गर्दै स्थानीयले उनको डिएनए परीक्षण गरिनु पर्ने माग राखेका थिए ।

यो बीचमा २८ भदौमा निर्मलाकी आमा दुर्गादेवी पन्तले काठमाडौंमा सार्वजनिक कार्यक्रममा रुँदै याचना गरेकी थिइन्– सरकारले मलाई न्याय दिओस्, के म नेपाली नागरिक होइन र रु

आइतबार निलम्बित एसपी डिल्लिराज विष्ट, विष्टका छोरा र भिमदत्त नगरका मेयरका भतिजाको डिएनए परीक्षणको नतिजा आएसँगै दुर्गादेवीले आफूले अब न्यायको आश मारेको बताएकी छिन् ।

उनले भनिन्, ‘अब न्याय पाइएला जस्तो छैन, यो देश हामीजस्ता नागरिकको होइन रहेछ ।’

उनले १ असोजमा प्रधानमन्त्रीलाई भेट्न गएको सम्झना पनि स्मरण गरिन् । ‘त्यही भेटमा आश मरेको थियो,’ उनले भनिन्, ‘निर्मलाका बुवालाई प्रधानमन्त्रीको अगाडी बोल्नै दिइएन । हामीसँग जानुभएका अधिकारकर्मीलाई पनि बोल्न दिइएन ।’

अर्कोतिर अहिले अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा नै पत्रकार सूर्य थापालाई दिएको अन्तर्वार्तामा पनि निर्मला हत्याकाण्डबारे कुरा गरेका छन् । त्यो अन्तर्वार्तामा उनले निर्मलाका हत्यारा भेटेर कारवाही गर्न १२ वर्षसम्म पनि लाग्न सक्ने बताएका छन् ।

हामीले यो कुरा निर्मलाकी आमालाई सुनायौँ । त्यसपछि स्तब्ध हुँदै दुर्गाले भनिन्, ‘सरकारले नै अपराधी बचाउन काम गरेको छ, एसपीले यहाँ प्रमाण मेटाउने काम गरे, उता सरकारले बेवास्ता गरेको छ ।’

उनीसँग प्रश्न छ, ‘अहिले अनेक कुरा गरिएको छ, तर घटनाको प्रमाण मेटाएको मान्छे कसरी निर्दोष हुन्छ ?’

दुर्गाले डिएनए परीक्षणमाथि पनि आशंका पोखिन् । ‘हामीले अन्दोलन गर्यौँ, न्याय चाहियो भन्यौँ,’ उनले भनिन्, ‘यिनीहरुले भने, डिएनए परीक्षण गरेको जस्तो गरिदिउँ न त भन्ने आशयमा डिएनए परीक्षण भयो, नत्र पहिले नै गरिन्थ्यो नि ।’ डिएनए परीक्षण भनेर सरकारले झुक्याएकोमा निर्मलाकी आमाको दुखेसो छ ।

‘ल, उनीहरु कोही अपराधी होइनन्,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘मेरी छोरी त अब फर्किन्न, सरकार र सरोकार पक्षले अपराधी पत्ता लगाउनु पर्दैन र?’