सात महिने शिशुले केही गरेन भन्नु मुर्खता : मुख्यमन्त्री पौडेल
गुगलपाटी संवाददाता हेटौंडा,१५ असोजप्रदेश नम्बर तीनका मुख्यमन्त्री डोलमणी पौडेलले आफूहरुको सरकार गठन भएको जम्मा सात महिना भएको भन्दै यो अवधीमा धेरै कुराको आश गर्नु मुर्खता भएको बताएका छन्।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सोमबार १५ औं साधारण सभाको उद्घाटन सत्रमा आफ्ना धारणा राख्दै उहाँले आफूहरुको सरकार शिशु अवस्थामा रहेका कारण अहिले नै सरकारको मुल्यांकन गर्ने बेला नभएको बताए । उनले बषौं पुरानो केन्द्र सरकारसँग तुलना गरेर प्रदेश सरकारले यो वा त्यो गरेन भन्नु गलत भएको टिप्पणी गरे ।
उनले जहाजभित्र बसेर जहाजको स्पीड थाहा नहुने तर जहाज ल्याण्ड गरेपछि मात्रै थाहा हुने बताए । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेल,प्रदेश सांसदहरु मुनु सिग्देल,प्रेम बहादुर पुलामी लगायतले आफ्ना धारणा राखेका थिए ।