नवज्योति विजयी, अगराठे र नर्मल मुस्कान बराबरीमा रोकियो
गुगलपाटी संवाददाता हेटौँडा,१५ असोज ।हेटौँडा उपमहानगरपालिका वडा नंबर ७ मा जारी टोल स्तरीय फुटबल प्रतियोगिता (खसि कप) अन्र्तगत आज दुईवटा खेलहरु सम्पन्न भएको छ ।
आज भएको पहिलो खेलमा नर्मल मुस्कान र अगराठे क्लबले बराबरी खेलेका छन् । दुबै टिमले निर्धारित समयमा १–१ गोल गरेपछि खेल बराबरीमा सकिएको हो । खेलमा म्यान अफ द म्याच भने नर्मल मुस्कानका सुजन थापा भए ।
आजै भएको दोश्रो खेलमा नवज्योती क्लबले जित हाँसिल गरेको छ । नव ज्योतिले किरन चोकलाई २–० गोलअन्तरले पराजित गरेको हो । नव ज्योतिको लागि विकास केसी र उदित थापाले गोल गरे । खेलमा नवज्योतिका उदितनै म्यान अफ द म्याच भए।
९ वटा टिम सहभागि प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाईने आयोजक नर्मल मुस्कान क्लबले जनाएको छ । दुई समुहबाट विजेता तथा उपविजेता गरि चार वटा टिमलाई सेमिफाईनलमा लगिने आयोजकको भनाई रहेको छ । प्रतियोगिताको लागि करिब ४ लाख रुपैँया खर्च हुने आयोजकको अनुमान रहेको छ ।
यो पटक प्रथम हुनेले ३५ देखि ४० किलोको खसिको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले २५ देखि ३० किलोको खसिको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाई रहेको छ । प्रतियोगितामा दैनिक म्यान अफ द म्याच तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।