हेटौंडामा जेपी भेटवाल फाउन्डेसन
गुगलपाटी संवाददाता हेटौंडानेपाली कम्युनिष्ट इतिहासका लोकप्रिय नेता जेपी भेटवालको स्मृतिमा जेपी भेटवाल फाउन्डेसन गठन भएको छ ।
हेटौंडामा विजय सुवेदीको अध्यक्षमा फाउन्डेसन गठन गरिएको हो । प्रतिष्ठान उपाध्यक्षमा श्रीधर पोखरेल, सचिवमा राजेन्द्र श्रेष्ठ, सहसचिवमा मुकुन्द दाहाल, कोषाध्यक्षमा सिर्जना भेटवाल तथा सदस्यमा पार्वती रावल, गोबिन्द बस्नेत, नवीन सिग्देल, हिदम लामा, प्रकाश भेटवाल र हेमन्त भेटवाललगायत १९ जना रहनुभएको छ ।
प्रतिष्ठान संरक्षकमा वामदेव गौतम, मुकुन्द न्यौपाने तथा हरिमाया भेटवाल, निर्देशक समितिमा केदार न्यौपाने, देवी ज्ञवाली, काशीनाथ अधिकारी र प्रदेश–३ का मन्त्री दावा दोर्जेलामा तथा बालगोपाल थापा रहनुभएको छ ।
तत्कालीन चितवन क्षेत्र नम्बर १ का सांसद् तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य जागृतप्रसाद (जेपी) भेटवालको काठमाडौं वीर अस्पतालमा चैत २१ गते निधन भएको थियो । २०६३ सालदेखि भेटवाल क्यान्सर रोगबाट पीडित थिए । डाक्टरले यसअघि नै मृत्यु हुन्छ भने पनि भेटवाल आत्मबलले मृत्युलाई जितिरहनुभएको थियो । उहाँलाई प्रोष्टेटको क्यान्सर थियो ।
क्यान्सर जितेर सामाजिक काम गरिरहनुभएका उहाँको शरीरका सबै अंगमा क्यान्सर फैलिएर अबस्था गम्भीर भएपछि वीर अस्पताल भर्ना गरिएको थियो । काभ्रे जिल्लामा जन्मिनुभएका उहाँ परिवारसहित २०२० सालमा चितवन झर्नुभएको थियो ।
२०४६ सालमा भएको जनआन्दोलनमा तत्कालीन पञ्चायतले उहाँलाई कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेको भन्दै ३० वर्ष कैद सजाय सुनाएको थियो । २०४८ सालमा उहाँ चितवन क्षेत्र नम्बर–१ बाट सांसद् हुनुभएको थियो । पञ्चायतकालमा पनि उहाँ जनपक्षीय उम्मेदवार बन्नुभएको थियो । उहाँले २ लाख घरपरिवारलाई बाढीबाट जोगाउनुभएको थियो ।