चिनी : उता थन्किनी यता महँगिनी

गुगलपाटी संवाददाता हेटौंडा,१८ असोज
१८ आश्विन २०७५ ०५:०३

 

सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वीरगन्ज भित्र्याएको दुई हजार पाँच सय मेट्रिकटन चिनी सिर्सिया सुक्खा बन्दरगाहमा रोकिएको छ ।

साल्ट ट्रेडिङले भारतको गुजरातबाट आयात गरेको चिनी दुई साता देखि सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । वीरगन्ज सुक्खा बन्दरगाह भन्सारले जाँचपास गर्न अस्वीकार गरेपछि चिनी गोदाममा थन्किएको हो । वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेको सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत सूर्य सेढाइले बताउनु भयो । साल्ट ट्रेडिङको चिनी असोज ६ गते बीरगंज स्थित सुख्खा बन्दरगाहमा आइपुगेको थियो । सरकारले चिनी आयातमा १५ प्रतिशत भन्सार महसुललाई ३० प्रतिशत पु¥याएको छ ।
चिनीको न्यूनतम मूल्याङ्कनसमेत प्रतिमेट्रिकटन ४ सय ६० अमेरिकी डलर तोकिएको थियो । त्यसबेला व्यवसायीले ३ सय ३० डलरसम्ममा चिनी ल्याएका थिए । अन्तरराष्ट्रिय बजारमा चिनीको मुल्यमा ठूलो गिरावट आएपछि स्वदेशी उद्योग संरक्षणको नाममा भन्सार बढाइएको थियो । भन्सार बढाउँदासमेत चिनी आउनेक्रम नरोकिएपछि कोटा लगाइएको हो । असोज १ गतेदेखि कुनै पनि नाकाबाट चिनी भित्रिएको छैन । सरकारले चिनीको आयातमा रोक लगाएपछि आन्तरिक बजारमा चिनीको भाउ बढ्न थालेको छ । सरकारले चिनी उद्योगीको प्रभावमा आयातमा कोटा लगाएको आरोप आयातकर्ता र उपभोक्तावादीले लगाइरहेका छन् । वीरगंजमा प्रतिकिलो ५५ रुपैयामा पाईने चिनी अहिले मुल्य बढेर ६५ देखि ७० रुपैया सम्म पुगेको छ ।