तीनै तहको सरकारबीच समन्वय नभए संघीयता धरापमा : मुख्यमन्त्री पौडेल
गुगलपाटी संवाददाता हेटौंडा,१८ असोजप्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीनवटै सरकारको समन्वय नभए संघीयता धरापमा पर्ने बताएका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको तेस्रो जिल्ला सभा तथा वार्षिक समीक्षा बैठकलाई बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले तीनवटै सरकार एकआपसमा नमिलेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका हुन् । हाल जिल्ला समन्वय समिति अधिकार विहीन झैँ देखिएकोले प्रदेश सरकारले त्यसलाई अधिकारपूर्ण बनाउने उनले बताए । पर्याप्त श्रोत–साधनको अभावमा पनि उत्कृष्ट समन्वयकारी भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समिति मकवानपुरको प्रशंसा समेत गरे ।
उनले प्रदेश सरकारको अपमान गर्ने स्थानीय तहलाई प्रदेश सरकारबाट प्रदान गरिने सुविधाबाट वञ्चित गराइने चेतावनी दिए । प्रदेश सरकारले बोकेको विकास भौतिक विकास मात्रै नभएको बताउँदै उनले आम जनतालाई समृद्ध बनाउने तीर सबै जनप्रतिनिधिले सोच्नुपर्ने बताए । जनप्रतिनिधिले राम्रो काम गरे मात्रै संघीयता टिक्ने उनले दाबी गरे । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकिय अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको थियो ।