स्थानीय पत्रपत्रिकाः स्थानीय तहप्रति किन आक्रोशित बन्दैछन् मुख्यमन्त्री ?

गुगलपाटी संवाददाता
१९ आश्विन २०७५ ०१:१९

हेटौंडाबाट आज प्रकाशित भएका सबै पत्रिकाले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहप्रति आक्रोशित बन्दै गएको सम्बन्धी प्रसङ्ग छापेका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरको बिहीबारबाट सुरु भएको जिल्ला सभामा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई आफ्नो अहम्ता त्याग्न आग्रह गरे ।

आजको हेटौंडा सन्देश दैनिक, साझाकुरा दैनिक, समृद्ध समाज दैनिक र प्रदेश दैनिकले मुख्यमन्त्रीले जिल्ला सभामा बोलेको कुरालाई आफ्नो पहिलो समाचार बनाएर छापेका छन् । स्थानीय तहहरुले संघीय तथा प्रदेशको कानुन मान्दिन भनिरहेको भन्दै मुख्यमन्त्री पौडेलले केहीसमयअघि देखि स्थानीय तहप्रति आक्रोश पोखिरहेका छन् ।

उनले सार्वजनिक कार्यक्रमहरुमा बोल्दै प्रदेशको कानुन मान्दिन भन्ने स्थानीय तहलाई प्रदेशले दिने अनुदान पनि रोकिदिने चेतावनी दिँदै आएका छन् । उनले त्यो चेतावनी बिहीबारको कार्यक्रममा पनि दोहो¥याए । स्थानीय तहहरुले आफैलाई नै सर्वेसर्वा ठानिरहेको भन्दै उनीहरु संघीयता बिरोधी हुँदै गएको मुख्यमन्त्रीको भनाइ छ ।

आजको हेटौंडा सन्देश दैनिकले खाल्डाखुल्डीका कारण दूर्घटनाको त्रास बढेको समाचार पहिलो पृष्ठमा छापेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–मनहरी सडकमा परेका खाल्डाखुल्डीका कारण दूर्घटनाको त्रास बढेको छ ।

खाल्डाखुल्डी पुर्न डिभिजन सडकले चासो देखाएको छैन । पानी पर्दा हिलो र घाम लाग्दा धुलोको कारण यात्रु तथा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ