भलिबलको उपाधि भोर्ले ‘ए’ लाई

गुगलपाटी संवाददाता हेटौँडा, २० असोज
२० आश्विन २०७५ १४:३२

 हेटौँडा उपमहानगरपालिका १२ नम्बर वडा कार्यालय तथा खेलकुद समिति हेटौँडा १२ को आयोजनामा भएको साविक पदमपोखरी गाविस हाल हेटौँडा १२ र १३ स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ को भोर्ले युवा क्लब ‘ए’ ले जितेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित हात्तिगौँडामा शनिबार भएको फाईनल खेलमा हात्तिगौँडा युवा क्बल ‘ए’ लाई पराजित गर्दै भोर्लेले उपाधि कब्जा गरेको हो ।

निकै नै रोमाञ्चक बनेको फाईनल खेलमा पहिलो सेट हात्तिगौँडाको पक्षमा आएता पनि ४ सेट मध्ये ३ सेटमा हात्तिगौँडालाई भोर्लेले पराजित गरेको हात्तिगौँडाबाट मनोज लामाले जानकारी दिएका छन् । उपाधि जितेसँगै भोर्ले ‘ए’ नगद २० हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता हात्तिगौँडा ‘ए’ ले नगद १० हजार सहित प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । त्यस्तै हेटौँडा १३ ले तेस्रो स्थानमा चित्त बुझाउँदै नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै बुद्ध मा.वि.ले प्रतियोगिताको अनुशासित टिम बन्दै एक हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी भोर्ले ए का बुद्धिकृष्ण दंगाल र उत्कृष्ट सेटर हात्तिगौँडा ए का राजन स्याङ्तान घोषित भएका छन् । उत्कृष्ट स्पाईकरका रुपमा हात्तिगौँडा ए कै अमिर थिङ र उत्कृष्ट ब्लकर भोर्ले ए का प्रविण दंगाल र उत्कृष्ट डिफेन्सका रुपमा हात्तिगौँडा ए का मनोज लामा घोषित भएका छन् ।

विजेता, उपविजेता तथा अन्य उत्कृष्ट खेलाडीहरुलाई समापनमा कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा वडा नम्बर १२ का वडाअध्यक्ष ललितबहादुर घलान, वडा नम्बर १३ का अध्यक्ष मनोजकुमार वाईबा, जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा राजनीतिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । असोज १८ गतेदेखि संचालित खेलमा वडा नम्बर १२ र १३ का विभिन्न टिमहरुको सहभागिता रहेको थियो ।