तीन नम्बर प्रदेशको स्थायी राजधानीबारे भोलीदेखि छलफल हुने
गुगलपाटी संवाददाता हेटौंडा,२१ असोजतीन नम्बर प्रदेशको स्थायी राजधानी तोक्नको लागि भोलीबाट प्रदेशसभामा औपचारिक छलफल सुरु हुने भएको छ । सम्भाब्यता अध्ययन विशेष समितिको प्रतिवेदन भोली सोमबार प्रदेशसभा बैठकमा पेश हुने भएको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले बताए ।
प्रदेशसभामा आईतबार बोल्दै उनले कार्यब्यवस्था परामर्श समितिको बैठकबाट सोमबार प्रदेशसभामा उक्त प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको जानकारी दिए ।
गत असार २६ गते विशेष समितिले सभामुख सानुकुमार श्रेष्ठलाई विषेश समितिले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई स्थायी राजधानीका लागि उपयुक्त हुने प्रस्ताव गरिएको छ । राजधानीको विषयले प्रदेशसभामा प्रवेश पाउने भएपछि हेटौंडा बाहिर राजधानी लैजाने र हेटौंडामै राख्न चलखेल सुरु भएको बताइएको छ ।
यसैबीच दुई नयाँ विधेयक प्रदेशसभा पेश भएको छ । भौक्तिक पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको प्रदेशसभा सचिवालयका सचिव भरतकुमार बुढाथोकीले बताए । उक्त दुई विधेयमाथि भएको सैद्धान्तिक छलफलमा एक दर्जन प्रदेशसभा सदस्यहरुले धारणा राखेका थिए ।
साथै प्रदेश खेलकुद विकास सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्राविधिक शिक्षा सञ्चालन गर्र्र्ने व्यवस्था सम्बन्धी विधेयक शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ । प्रदेश कार्य सञ्चालन कोष सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अर्थ तथा विकास समितिमा दफावार छलफलको लागि पठाइएको प्रदेशसभा सचिवालयका सचिव बुढाथोकीले बताए ।
प्रदेशसभको बैठक भोली सोभाबा बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।