प्रदेश तीनमा मन्त्रीपरिषद बिस्तार

गुगलपाटी संवाददाता
१६ फाल्गुन २०७४ १४:५२

प्रदेश तीनको सरकारले बुधबार साँझ पूर्णता पाएको छ । चार जना मन्त्री थपिएसँगै मन्त्रीपरिषदले पूर्णता पाएको हो । हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालय परिसरमा बुधवार साँझ चारजना मन्त्रीलाई सपथ खुवाइएको छ ।
बुधवार सपथ लिनेहरुमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, योजना तथा अर्थमन्त्री कैलाश ढुंगेल, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र सामाजिक विकास मन्त्री युवराज दुलाल रहेका छन् । उनीहरुलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथग्रहण गराइन् । सपथ ग्रहण समारोहमा मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल र भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित, प्रतिनिधिसभा सदस्यहरु, प्रदेश सभा सदस्यहरु, राष्ट्रिय सभा सदस्यहरु तथा विभिन्न निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
थपिएका मन्त्रीहरुमध्ये दुलाल मात्रै माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका हुन् । बाँकी सबै एमालेका तर्फबाट मन्त्री बनेका छन् । सात सदस्यीय मन्त्रीपरिषदमा एमालेको तर्फबाट मुख्यमन्त्रीसहित ५ जना र माओवादी केन्द्रका दुईजना मन्त्री भएका छन् । यससँगै मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । यसअघि एमालेका केशव स्थापित भौतिक पूर्वाधार मन्त्री, शालिकराम जमकट्टेल आन्तरिक मामिला तथा कानूनमन्त्री बनिसकेका छन् ।