स्थानीय पत्रपत्रिकाः आँखा उपचारमा अब्बल सामुदायिक अस्पताल, वर्सेनि ४ हजार जनाको सल्यक्रिया
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक प्रसङ्गलाई आफ्नो प्रमुख समाचारका रुपमा लेखेका छन् ।
हेटौंडामा आज काँग्रेसले चारैतिरबाट प्रदर्शनको तयरी गरेको, प्रदेश ३ ले ल्होसारमा बिदा घोषणा गरेको, नेवारपानीमा अवैध उत्खनन् रोकिएको, हेटौंडा सामुदायिक आँखा अस्पतालमा वर्सेनि ४ हजारजनाभन्दा बढीको शल्यक्रिया हुने गरेकोलगायतका समाचार आजका दैनिक पत्रिकाले प्राथमिकताका साथ छापेका छन ।
सामुदायिक आँखा अस्पताल हेटौंडाले आफ्नो सेवासुविधा विस्तार गरेसँगै हेटौंडामा आँखाको उपचारका लागि तराईका विभिन्न जिल्लाबाट आउनेको घुइँचो लाग्न थालेको छ । करिब १२ वर्ष अगाडि हेटौंडा–१० टीसीएन जंगलभित्रको काँसघारी फाँडेर आँखा अस्पताल निर्माण गर्न लाग्दा कसैले विश्वास गरेका थिएनन् यसरी आँखाको उपचार गर्न तराईका विभिन्न जिल्लाबाट विरामीहरु यहाँ आउँछन् भनेर ।
पूर्णरुपमा समुदायमा आधारित रहेर सेवा प्रवाह गरिरहेको अस्पतालमा ९० रुपियाँमा आँखा सम्पूर्ण परीक्षण हुन्छ । अस्पतालले आर्थिक अवस्था कमजोर भएकाहरुको अप्रेशन समेत निःशुल्क गर्ने गरेको छ ।
मकवानपुरबाहेक छिमेकी बारा, पर्सा, रौतहट, चितवन, सिन्धुलीलगायत जिल्लाबाट आँखाको उपचारका लागि विरामीहरु हेटौंडा आउने गरेका छन् । अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत् विभिन्न संघसंस्थासँग सहकार्य गरेर गाउँगाउँमा समेत निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरेको छ । निःशुल्क आँखा परीक्षण गर्दा अप्रेशन गर्नुपरे अस्पतालले निःशुल्कको व्यवस्था समेत मिलाएको छ ।
अस्पतालमा बार्षिक ७० हजारभन्दा बढीको आँखा परीक्षण गर्ने गरेका छन् । दैनिक दुईसय ५० भन्दा बढीले सेवा लिनेको गरेको र बार्षिक चारहजारको आँखाको शल्यक्रिया अस्पतालमा हुने गरेको अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत सुधिर भद्रले जानकारी दिए । उनका अनुसार बार्षिक शल्यक्रिया हुनेमध्ये आधाको निःशुल्क नै हुन्छ । आजको साझाकुरा दैनिकमा समाचार छ ।
हेर्नुहोस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ