मकवानपुरमा प्रभावकारी बन्दै मेड्पा कार्यक्रम
गुगलपाटी संवाददाताहेटौंडाः गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) मकवानपुरमा प्रभावकारी बन्दै गएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगत घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रम मकवानपुरका प्रभावकारी बन्दै गएको देखिन्छ ।
मकवानपुरमा महिला शसक्तीकरण तथा गरिबी निवारण समुहको समन्वयमा पाँच वटा स्थानीय तहमा सञ्चालित कार्यक्रमबाट ३ सय महिला र ३२ जना पुरुषहरु लाभान्दित भएको देखिन्छ । महिला शसक्तीकरण तथा गरिबी निवारण समुहको समन्वयमा भएको मेड्पा कार्यक्रममा मकवानपुरको विभिन्न स्थानीय तहमा ७ स्थानमा सिलाई कटाई तालिम र मेसिन सहयोग रहेको छ । उक्त कार्यक्रम मेड्पा कार्यक्रम मध्ये सबैभन्दा प्रभावकारी भएको देखिन्छ । मेड्पा कार्यक्रमबाट नै तालिम लिएकी मनहरी गाउँपालिका ४ की सुस्मिता तामाङ अब आफैं सिलाई कटाई व्यवसाय सञ्चालन गर्ने बताउँछिन् । तालिमबाट धेरै कुराको ज्ञान भएको भन्दै अझै स्तरोन्नतीको तालिम लिएर व्यवसाय गर्ने उनले बताएकी हुन् । यस्तै तालिम लिएकी मनहरीको खुर्सानीबारीकी सरस्वती वाईवा भन्छिन घरमै त्यत्तिकै बस्नुको साटो सिलाई कटाई गर्दा धेरै आम्दानी हुन सक्ने रहेछ तालिम लिए जसरी नै व्यवसाय समेत गर्ने बताउँछिन् । उनले साथीहरु सँग सल्लाह गरेर समुहगत रुपमा फर्म दर्ता गर्ने तयारी गरेको बताईन् ।
मेड्पा कार्यक्रम अन्तर्गत नै डलकुशन बनाउने तालिम, वेतबासबाट मुढा(टुल) बनाउने तालिम, टपरी बनाउने मेसिन समेत सहयोग भएको छ । टपरी बनाउने मेसिन सहयोग भएपछि मनहरी ६ नयाँ बस्तिका महिला तथा पुरुषहरु हर्षित भएका छन् । अहिले दैनिक टपरीको माग बढ्दो रहेको उनीहरुले बताएका हुन् । यस्तै मनहरी गाउँपालिकामा व्यटिपार्लर तालिमबाट सिकेर व्यवसाय गर्नेहरुलाई सहयोग समेत गरेको महिला शसक्तीकरण तथा गरिबी निवारण समुहकी अध्यक्ष इन्दिरा न्यौपानेले जानकारी दिईन् ।
मेड्पा कार्यक्रमको जिल्ला समन्वय समिति मकवानपुर र घरेलु तथा साना उद्योगको कार्यालबाट अनुगमन समेत भएको छ । अनुगमनको क्रममा मेड्पा कार्यक्रम तुलनात्मक रुपमा प्रभावकारी बन्दै गएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले जानकारी दिएका छन् ।