२ सय ५० जनाको निःशुल्क आँखा अप्रेशन
गुगलपाटी संवाददाताहेटौंडा–रोटरी क्लब अफ मकवानपुर र रोटरी क्लब अफ मिड टाउन काठमाडौंको आयोजनामा बाराको निजगढमा भएको आँखा परीक्षण शिविरबाट मोतियाविन्दु भेटिएकाहरुको मंगलबार हेटौंडा आँखा अस्पतालमा अप्रेशन गरिएको छ ।
आँखा अस्पतालको प्रविधिक सहयोगमा भएको आँखा शिविरपछि मंगलबार २ सय ५० जनाको निःशुल्क अप्रेशन गरिएको हो । सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा क्लबले वर्षेनी विभिन्न जिल्लामा आँखा परीक्षण शिविर आयोजना गर्ने गरेको छ । आँखा शिविरमा भेटिएका मोतियाविन्दुका विरामीहरुको निःशुल्क अप्रेशन समेत गराउने गरेको छ ।
‘एकजनाको अप्रेशन गराउँदा करिब आठहजार रुपियाँ खर्च हुन्छ । हामीले ल्याउने लैजाने, खाजा, खाना, आवासीय व्यवस्था, चस्मा तथा अप्रेशनसको सवै खर्च अस्पतालसँग समन्वय गरेर व्यहोर्ने गरेका छौं ।’, रोटरी क्लबका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले भने । क्लबले गतहप्ता मकवानपुरको गढीगाउँपालिका, बकैया गाउँपालिका, बाराको निजगढ र पका तथा पर्साको जैतापुरमा शिविर राखेको थियो । उक्त शिविरमा भेटिएका विरामीहरुको निःशुल्क अप्रेशन गरिएको हो ।
प्रजापतिका अनुसार क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत् विभिन्न जिल्लामा पुगेर यस्ता किसिको कार्यक्रम आयोजना गर्ने गरेको छ । क्लबले खानेपानी, विद्यालय भवन निर्माण तथा पोलियो उन्मुलनका लागि जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।