प्रधानमन्त्री ओलीद्वारा पानीजहाज कार्यालयको उद्घाटन
गुगलपाटी संवाददाता काठमाडौंबिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालय उद्घाटन गरेका छन् । सरकारले नेपाली पानीजहाज चलाउने उद्देश्य पूरा गर्नका लागि ललितपुरको एकान्तकुनामा कार्यालय खोलेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत कार्यालय रहने छ ।यसअघि मन्त्रिपरिषद् बैठकले कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी रहने छ ।
मन्त्रिपरिषद्को पुस २९ गतेको निर्णय अनुसार वरिष्ठ डिभिजनल इन्जिनियर, शाखा अधिकृत, कानून अधिकृत, लेखा अधिकृत १–१ जना, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इन्जिनियर १–१ गरी ३ जना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको थियो ।
ओली सरकार बनेपछि पानीजहाज सञ्चालनमा ल्याउने मुद्दा राजनीतिक वृत्तमा चर्चित छ । कार्यालयले पानीजहाज सञ्चालन गर्ने योजना बनाउने, अध्ययन गर्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।