नेपाल टेलिभिजनको व्यूरो कार्यालय हेटौंडामा

गुगलपाटी संवाददाता
३१ बैशाख २०७६ १७:३४

नेपाल टेलिभिजनको प्रदेश नम्बर तिनको व्यूरो कार्यालय प्रदेशको राजधानी हेटौंडामा स्थापना गरिएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यूरो कार्यालयको एक कार्यक्रमका विच मंगलबार उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै सञ्चार मन्त्री बाँस्कोटाले जनताको आवाज जनता समक्ष पु-याउने माध्यम अझ सशक्त भएको बताउँनुभयो । नेपाल टेलिभिजनले सूचना, संचार र मनोरञ्जनात्मक कार्यक्रमलाई जनता माझ अझ परिस्कृत रुपमा लैजानुपर्ने उहाँले बताउनुभयो ।

सरकारले बृद्ध भत्ता बढाएन भन्नेहरुलाई अबका दिनमा बोली बन्द गर्दै यो बर्षको निति तथा कार्यक्रममा आईसकेकाले बजेट भाषणमा बृद्ध भत्ता बढाईने बताउनुभयो । विकासका सवैक्षेत्रमा सरकारले हात हालेकाले तत्काल केही उपलब्धी नदेखिए पनि सरकारले जनताको पक्षमा काम गरिरहेको बताउनुभयो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले नेपाल टेलिभिजनका हाल चारवटा च्यानल प्रसारण भईरहेको र आगामी दिनमा सबै प्रदेशका राजधानीहरुमा व्यूरो कार्यालय स्थापना गरि संचालन गरिने बताउनुभयो । प्रदेश भरी र विशेषतः प्रदेश राजधानीमा भएका शुष्म गतिविधिलाई जनता माझ लैजान व्यूरो कार्यालयले अझ सशक्त भएर काम गर्नुपर्नेमा उहाँको जोड थियो ।  लोकतन्त्रको जरा भनेको नेपाली जनता भएकाले जनताको आवाजलाई माध्यमका रुपमा पु-याउन टेलिभिजन सदैव लागिपर्ने उहाँले बताउनुभयो ।


नेपाल टेलिभिजनका कायममुकायम नायब महाप्रबन्धक बिष्णुराम न्यौपानेले सातै प्रदेशमा व्यूरो कार्यालय स्थापना गर्ने नेपाल टेलिभिजनको निति अनुरुप प्रदेश तिनको राजधानी हेटौडामा व्यूरो कार्यालय स्थापना गरिएको बताउनुभयो । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल टेलिभिजनका कायममुकायम नायब महाप्रबन्धक बिष्णुराम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल टेलिकमका एम.डि. डिल्ली अधिकारी, सुरक्षण मुद्रण बिकास समितिका कार्यकारी निर्देशक विकल पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण भण्डारी, स्थानीय सर्वसाधारण एवं सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।