डा. केसीका माग जायज : प्रचण्ड
गुगलपाटी संवाददाता काठमाडाैंचिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन्। नेकपा नेतृत्वको सरकारले डा. केसीका माग सम्बोधनमा बेवास्ता गरिरहेका बेला सोही दलका शीर्ष स्तरका नेताले माग जायज भएको प्रतिक्रिया दिएका हुन्।
चिकित्सा शिक्षासम्बन्धी केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनअनुसार पूर्ववर्ती सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश निष्क्रिय पारेर नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नयाँ विधेयक ल्याएपछि डा. केसी २० दिनदेखि अनशनमा छन्। जुम्लास्थित कर्णाली स्वास्थ्य प्रतिष्ठानमा अनशनमा बसेका केसीलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले डा. केसीका माग जायज भएको बताएका हुन्। ‘डा. केसीले उठाएका माग जायज छन् तर यी विषय वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ,’ दाहाललाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विष्णु सापकोटाले भने। माग जायज भए पनि मुलुकमा संसद् भएकाले त्यहाँबाट टुंग्याउनुपर्ने विषयलाई चुनौती दिन भने नहुने दाहालको भनाइ छ। ‘उहाँ (डा. केसी) का जायज मागलाई वैधानिक निकायले वैधानिक तरिकाले सम्बोधन गर्छ। माग जायज हुँदाहुँदै पनि व्यक्तिले वैधानिक निकायलाई चुनौती दिनु गलत हो,’ दाहाललाई उद्धृत गर्दै सापकोटाले भने।